सुरक्षित पासवर्ड कसरी राख्ने ?



प्रविधिको विकाससंगै यसको दुरुपयोगको समाचार प्रत्येक दिनजसो सुन्नमा आइरहन्छ। कहिले फेसबुक त कहिले अनलाईन बैकिङ्ग एकाउन्ट ह्याक भई यसबाट नराम्रा नतिजा आएको सुन्नमा आइरहेको हुन्छ। 

 
हाम्रो जस्तो देशमा धेरैजसोले पर्याप्त जानकारी बिना नै इन्टरनेटसंग सम्बन्धित सेवा जस्तै फेसबुक, भाइबर, ह्वाटस्एप, इमेल लगायत प्रयोग गरिएको पाइन्छ। पर्याप्त जानकारी नभएकै कारण दैनिकजसो धेरैले समस्या झेल्नुपरेको समाचार पनि आइरहन्छ।
त्यसैले यी सबै सेवा सुरक्षित रुपमा प्रयोग गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। यसमा पनि सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको सुरक्षित र बलियो पासवर्ड राख्नु हो। 
बलियो तथा सुरक्षित पासवर्ड राख्ने केही उपाय यस्ता छन्ः 
१. पासवर्ड राख्दा अरुले सजिलै अनुमान नलगाउने खाले राख्ने। जस्तै कसैको नाम, ठेगाना, जन्ममिति, फोन नम्बर, गाडी नम्बर कहिल्यै नराख्ने। यस्ता पासवर्ड प्रयोगकर्ताको नजिककाले सजिलै अनुमान लगाउन सक्छन्। 
२. पासवर्ड राख्दा अंग्रेजी शब्दकोशमा उपलब्ध हुने शब्द पनि नराख्ने। जस्तै Apple, badminton, picture, triangle, zebra । यस्ता पासवर्ड ह्याकरले चोर्न डिस्कनेरी अट्याक सफ्टवेयरको प्रयोग गर्न सक्छन्। यो सफ्टवेयरले प्रतिसेकेण्ड हजारौँ शब्द चेक गरेर केही मिनेटमै पत्ता लगाउन सक्छ। त्यसैले शब्दकोशमा उपलब्ध शब्द सिधै, उल्टो पारे वा अक्षर यताउता पारेर राख्दैमा पासवर्ड बलियो हुँदैन। 
३. पासवर्ड छान्दा अल्फाबेट (a to z, A to Z क्यापिटल र स्माल दुबै), नम्बर (0 to 9) र सिम्बोल (!, @, #, $, %, *, ~) को सम्मिश्रण गरेर राख्दा बलियो हुन्छ। पासवर्ड ६ अक्षरभन्दा बढी हुनुपर्छ। आफ्नो परिस्थितीको कल्पना गरेर पासवर्ड राख्न सकिन्छ। जस्तै म बिहान सबेरै ५ बजे उठछु, (I get Up Early In The Morning at 5 O’Clock) । यो वाक्यको अगाडिका अक्षरको मिश्रण गरेर यस्तो पासवर्ड राख्न सकिन्छ, Igueim@5Oc। यो सम्झिन सजिलो हुनुका साथै सबैको मिश्रण भएकाले सुरक्षित पनि हुन्छ।
४. अनलाईन ब्यांकिङमा हुने पासवर्ड अन्य कुनै एकाउन्टमा पुनः प्रयोग गर्नुहुँदैन। त्यस्तै साइबर तथा सार्वजनिक प्रयोग हुने स्थानमामा ई ब्यांकिङ जस्ता संवेदनशील एकाउन्ट लगइन गर्नुहुँदैन।
५. पासवर्ड कहीँ लेखेर राख्नु हुँदैन। दिमागमा सम्झिदा राम्रो हुन्छ तर लेख्नै परे पुरै पासवर्ड नलेखेर हिन्ट मात्र लेखेर सुरक्षित राख्ने।
६. धेरै जसो नयाँ एकाउन्ट साईन अप गर्दा सेक्युरिटी प्रश्न र उत्तर लेख्नुपर्ने हुन्छ। भबिष्यमा पासवर्ड रिसेट गर्नुपर्दा सेक्युरिटि प्रश्नको आधारमा रिसेट गर्न सकिन्छ। यस्ता प्रश्नको उत्तर लेख्दा सही उत्तर नदिनु राम्रो। जस्तै पहिलो विद्यालयको नाम के हो भन्ने प्रश्नमा एलिफेन्ट भन्ने उत्तर राख्दा राम्रो। यसो गर्दा तपाईँको नजिकका मित्रले पनि पासवर्ड रिसेट गर्न सक्दैनन्। 
७. आजकल जिमेल, फेसबुकजस्ता एकाउन्टमा दोहोरो सुरक्षाको सुविधा हुन्छ। यसको अर्थ युजर नेम तथा पासवर्ड हालिसकेपछि मोबाइलमा एकपटक प्रयोग गर्न मिल्ने कोड आउँछ। यसको प्रयोगले एकाउन्ट दुरुपयोग हुनसक्ने सम्भावना न्यून हुन्छ। 
माथि दिईएका साबधानीका बाबजुद अन्य कारणबाट पनि एकाउन्ट ह्याक हुनसक्छ। यसका लागि प्रयोगकर्ता सधैँ चनाखो रहनुपर्छ। बेलाबेलामा पासवर्ड परिवर्तन गरिरहनु पर्छ र एकाउन्ट ह्याक भएर दुरुपयोग भएको थाहा पाउने वित्तिकै प्रहरीको सहायता लिनु राम्रो हुन्छ। 

Published on Setopati: 

http://kinmel.setopati.com/suchana-prawidhi/38131/

0 प्रतिकृयाहरु: